बुधबार, कार्तिक १९ गते २०८३
images
images

हिमाली गाउँ पाँचपोखरीको आठवटै वडामा बर्थिङ सेन्टर

एक्सप्रेस पाना
पौष २१, २०७९ बिहीबार
  • 209
    SHARES
  • हिमाली गाउँ पाँचपोखरीको आठवटै वडामा बर्थिङ सेन्टर

    भौगोलिक हिसाबले निकै कठिन रहेको हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना भएका छन् । आठ वटा वडा रहेका पालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको हो । घरमै सुत्केरी हुने अवस्था अन्त्य गर्ने लक्ष्यका साथ पालिकाले गर्भवती तथा सुत्केरीका लागि विभिन्न सुविधा व्यवस्था गरेको गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिनुभयो । 

    images

    गर्भवतीका लागि पालिकाभित्र निःशुुल्क एम्बुलेन्स सेवाका लागि दुई वटा एम्बुलेन्स छन् । काठमाडौँ वा अन्यत्र लाग्नुपरेमा एकतर्फी भाडा नलाग्ने र अन्य एम्बुलेन्स गाडीमा गएमा रु पाँच हजार पालिकाले दिने स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले बताउनुभयो । हिमाली क्षेत्रमा पर्ने यस पालिकामा अझै कठिन अवस्थामा राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत धेरैको हेलिकप्टरमार्फत उपचारका लागि पठाइने गरेको गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो । 

    गाउँपालिकाको आठ वटै वडामा बर्थिङ सेन्टर स्थापना भएको उल्लेख गर्दै यो सिन्धुपाल्चोक जिल्लाको अन्य कुनै पनि पालिकामा नरहेको उहाँले बताउनुभयो । सुत्केरीका लागि पालिकाको बर्थिङ सेन्टरमा सुत्केरी गराउँदा पालिकाको तर्फबाट थप एक हजार पाँच सय रकम दिने गरेको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुइँकेले बताउनुभयो । 

    images

    साथै गर्भवतीसँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत सुत्केरीलाई घरमै गएर रु एक हजार बराबरको पोषणयुक्त खानेकुरा पालिकाले दिने लामाले बताउनुभयो । वर्षामा सडक यातायातमा समस्या रहेकाले हरेक वडामा बर्थिङ सेन्टर तथा पालिकामा रहेका दुई सुविधा सम्पन्न अस्पतालबाट सेवा प्रदान गर्ने गरेको उहाँको भनाइ छ । गाउँमै बर्थिङ सेन्टर भएपछि सुत्केरी गराउन अन्यत्र जान नपरेकोमा स्थानीय शोभा भट्टराईले खुसी व्यक्त गर्नुभयो ।