बुधबार, कार्तिक १९ गते २०८३
images
images

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै काठमाडौँ महानगर

एक्सप्रेस पाना
माघ ११, २०७९ बुधबार
  • 211
    SHARES
  • राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै काठमाडौँ महानगर

    काठमाडौँ महानगरपालिकाले राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राजस्व सफ्टवेयरसँग एनआइसी एसिया बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको छ ।

    images

    कामपाको वडा नं ५ बाट सुरु गरिएको सफ्टवेयर परीक्षण कार्य प्रभावकारी भए ३२ वटै वडामा सेवा विस्तार गर्ने कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए ।

    सफ्टवेयर एकीकृत गरेपछि सेवाग्राहीले राजस्व, शुल्क तथा दस्तुर तिर्दा बैंक भौचर भरिरहनु पर्दैन । 

    images

    “वडाको लेखाशाखामा विवरण भरेपछि सोही विवरणका आधारमा बैंक भौचर सिर्जना हुन्छ र बैंकमा अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिन्छ,” उनले भने । 

    सम्पत्ति कर, घरबहाल कर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ । कामपाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा लक्ष्यको ४१ प्रतिशत राजस्व असुल गरिसकेको छ । 

    चालु आवका लागि कामपाले १० अर्ब ३९ करोड राजस्व असुल गर्ने लक्ष्य लिएकामा हालसम्म रू चार अर्ब ३४ करोड असुल गरिसकेको छ ।

    गत वर्षको तुलनामा सोही अवधिमा यस वर्ष रू एक करोडले बढी राजस्व असुल भएको कामपा राजस्व विभाग प्रमुख डा अधिकारी बताउछन् ।

    विगतको वर्षमा कोरोनाका कारण राजस्व असुलीमा केही समस्या आएपनि यस वर्ष हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने डा अधिकारीको भनाइ छ ।  

    यस वर्ष कामपाका लागि बाह्य अनुदान रकम कम छ । आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ ।

    पछिल्लो समय कमपाले राजस्व सङ्कलनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको वक्यौता रकम असुलउपर गर्न सहज भएको बताइएको छ ।