भदौ २२ काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी पीएनजीविरुद्धको पहिलो एकदिवसीय ओडिआईमा २ विकेटले विजयी भएको छ । जितको लागि १३५ रनको सामान्य लक्ष्य पाएको नेपालले ओमानको अल अमिरात क्रिकेट मैदानमा ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । पपुवा न्युगिनीका गौदी टोकाले सर्वाधिक ३ विकेट लिए भने डामियन रभु र चाद सोपुरले समान २-२ विकेट लिए । नोसाइना पोकनाले एक विकेट लिए ।
कुनै समय हारतर्फ अग्रसर नेपाललाई रोहित कुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाए । नेपालको लागि रोहितले ४१ , आसिफ ३० , सोमपालले २२ तथा कुशल भुर्तलले १५ रन बाहेक अन्य कुनैले राम्रो प्रदर्शन गर्न सकेनन् ।
यसअघि टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनी ३३ ओभरमा अल आउट हुँदै १३४ रनमा समेटिएको थियो । पिएनजीका लेगा सियकाले सर्वाधिक ३० रन बनाए । उनले ३८ बलमा सो रन बनाएका थिए । यस्तै कार्लेस अमिनीले २३ रन बनाउँदा गाउदी टोकाले २२ रन बनाए । चाड सोपरले १७ रन बनाउँदा विकेट किपरसमेत रहेका किल्पिन डोरिगाले १४ रन बनाए भने सेसे बाउले १४ रन जोडेका थिए ।
पिएनजीलाई सस्तोमै समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । यस्तै कुशल मल्ल र डेब्यु खेलाडी बिक्रम सोबले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए भने एक रन आउट भएका थिए ।
१० ओभर बलिङ गरेका सन्दीपले ३५ रन खर्चेका थिए । यस्तै डेब्यु गरेका तीव्र गतिका बलर बिक्रम सोबले ५ ओभर बलिङ गर्दा २० रन खर्चेर १ मेडन सहित २ विकेट लिए । यता, कुशल मल्लले ७ ओभर बलिङ गर्दै २ विकेट लिएर १९ रन खर्चिदा १ मेडन राखे । ७ ओभर बलिङ गरेका सोमपालले ३७ रन खर्चेर १ विकेट लिएका थिए ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग दुई खेलको सिरिज खेलिरहेको हो । नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।


