शुक्रबार, भाद्र २६ गते २०८३
images

फ्रेन्चाइज भलिबल लिग आयोजना हुने

एक्सप्रेस पाना
भाद्र २२, २०७८ मंगलबार
  • 345
    SHARES
  • फ्रेन्चाइज भलिबल लिग आयोजना हुने

    भदौ २२ काठमाडौं । नेपालमा पहिलो पटक फ्रेन्चाइज भलिबल लिग आयोजना हुने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच महिला तथा पुरुष फ्रेन्चाइज भलिबल आयोजनका लागि सम्झौता भएको हो । 

    images

    नेपाल भलिबलको नियमन निकाय नेपाल भलिबल संघ (एनभीए) र नेपाल स्पोर्टस् तथा इभेन्टस् म्यानेजमेन्ट कम्पनीबीच फ्रेन्चाइज भलिबल लिगको लागि १० वर्षे सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के तथा नेपाल स्पोर्टस् म्याजेनमेन्ट कम्पनीका अध्यक्ष आश्रेता कार्की चौधरीले हस्ताक्षर गरे । 

    चौधरी ग्रुपको स्वामित्वमा रहेको नेपाल स्पोर्टस् इभेन्टस् म्यानेजमेन्ट कम्पनीले यसअघि नेपालमा पहिलो पटक फ्रेन्चाइज फुटबल (नेपाल सुपर लिग) आयोजना गरेको थियो । 

    images

    पहिलो संस्करणको फुटबलमा सफलता हासिल गरेसँगै चौधरी ग्रुपको स्पोर्टस् तथा म्यानेजमेन्ट कम्पनीले भलिबलमा हात हालेको हो । सम्झौता एक बर्षको रहने छ । खेल सम्पन्न गर्न एनभीएले प्राविधिक जिम्मेवारी लिनेछ भने प्रतियोगिताको सम्पूर्ण खर्च म्यानेजमेन्ट कम्पनीले ब्यहोर्ने छ ।

    यस्तै संघले बर्सेनि आयोजना गर्ने महिला तथा पुरुष लिगको लागि सहयोग गर्नेछ । म्यानेजमेन्ट कम्पनीले एनएसएल भलिबल प्रतियोगिताको नाफाको ३० प्रतिशत थप सहयोग गर्नेछ ।

    प्रतियोगिताको पहिलो संस्करण  १७ नोभेम्बरदेखि १७ डिसेम्बरसम्म गर्ने लक्ष्य राखिएको छ । यस्तै म्यानेजमेन्ट कम्पनीले दोस्रो संस्करण होम एन्ड अवेको आधारमा नेपालका विभिन्न शहरमा आयोजना गर्ने बताएको छ । 

    कार्यक्रमा बोल्दै स्पोर्टस् म्यानेजमेन्टका अध्यक्ष आश्रेता कार्की चौधरीले भलिबल लिग आयोजना गर्दा महिला तथा पुरुष भलिबलको खेलस्तर बढ्ने र सफल आयोजना गर्ने प्रतिबद्धता जाहेर गरिन् ।

    यस सम्झैतासँगै नेपालको राष्ट्रिय महिला तथा पुरुष खेलको स्तर बढ्ने विश्वास लिएको छु । फुटबल सुपर लिग सफल आयोजना गर्‍यौं । जसले गर्दा अन्य खेल आयोजना गर्न हौसला मिल्यो । सम्झौताको गर्नको लागि सहयोग गर्ने एनभीएप्रति आभार व्यक्त गर्दछौं, उनले भनिन् । 

    यस्तै भलिबल संघकी उपाध्यक्ष मास्केले म्यानेजमेन्ट कम्पनीसँग जोडिन पाउँदा खुसी लागेको बताइन् ।भलिबल विकासको लागि म्यानेजमेन्ट टिमसँग जोडिन पाउँदा खुसी छौं । सम्झौतासँगै भलिबल खेल व्यवसायिक रुपमा अगाडि बढ्नेछ । अन्तर्राष्ट्रिय क्ष्रेत्रमा फड्को मार्ने विश्वास लिएको छु, उपाध्यक्ष मास्केले भनिन् । 

    कार्यक्रममा राखेप सदस्य सचिव रमेश सिलवाल, भलिबल संघका उपाध्यक्ष कुमारराज सुवेदी, महासचिव जितेन्द्र चन्दलगायतको सहभागिता थियो ।