शरीरमा आगो लगाएका पुरूषलाई बचाउन गएकी पोखराकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जलेर घाइते भएकी पोखरा महानगरपालिका वडा नम्बर १३ की उक्त महिलाको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको चिकित्सकहरूलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले बताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारको गरिएको थियो । उनको घरमा डेरा गरी बस्ने एक पुरूषले शौचालयमा गएर आफैंमाथि पेट्रोल छर्केर आगो लगाएपछि उनी बचाउन गएकी थिइन् ।
आगोले जलेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो । आफैंमाथि आगो लगाएका पुरूषको भने उपचार जारी छ । उनको शरीरको करिब २५ प्रतिशत भाग जलेको छ। मृत्यु भएकी महिलाको भने ८० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । घाइतेलाई अस्पताल पुर्याएपछि मात्रै घटनाबारे प्रहरीलाई खबर आएको थियो ।
बचाउन गएकी महिलाको शरीर कसरी धेरै जलेको भन्ने विषयमा अनुसन्धान भइरहेको एसपी केसीले बताए । ‘अहिले हामी प्रारम्भीक अनुसन्धानमा छौं, परिवार पनि आउनुभएको छ। हामी थप बुझ्दैछौं,’ उनले भने, ‘यस विषयमा अनुसन्धानपछि मात्रै के भएको हो भन्न सकिन्छ ।’
यो घटना शंकास्पद छ वा छैन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको उनले बताए। प्रहरीले मृतक र उपचाररत पुरूषको परिचय भने खुलाएको छैन । ती पुरूषको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको प्रहरी निरीक्षक सुवास तिमिल्सिनाले बताए ।
.jpg)


