एजेन्सी । युवा फरवार्ड इयर्लिङ हालान्डले ह्याट्रिक गोल गरेपछि नर्वेले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको युरोपेली छनौट खेलमा फराकिलो जित निकालेको छ ।
मंगलबार राति भएको घरेलु मैदानमा भएको खेलमा नर्वेले गिब्रल्टारलाई ५–१ गोलले हराएको हो ।
नर्वेलाई जिताउन हालान्डले ह्याट्रिक गोल गरे भने क्रिस्टियन थोर्स्टभेद र एलेक्जेन्डर सोर्लथले एक–एक गोल गरे । गिब्रल्टारका रिस स्टिचले एक गोल गरे । नर्वेले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।
उक्त जितसँगै समूह जीको नर्वेले ६ खेलमा १३ अंक जोडेको छ । ऊ अङ्क तालिकाको दोस्रो स्थानमा छ । गिब्रल्टार भने अंकविहीन रहँदै छैटौँ स्थानमा छ । त्यस्तै समान खेलबाट समान अंक भएको नेदरल्यान्डस् गोल अन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ ।


