भदौ २३ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य मिक्छेन तामाङले ‘ए’ डिभिजन क्लब थ्रीस्टारसँग दुई बर्षको सम्झौता नवीकरण गरेका छन् । बुधबार क्लबले दुई बर्षको लागि मिक्छेन तामाङसँग सम्झौता नवीरकण गरेको हो । सम्झौता रकम भने खुलाइएको छैन ।
मिक्छेन १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीका मुख्य खेलाडी थिए । गत सिजनमा समेत थ्रीस्टारमै रहेका मिक्छेनले यसपालि पनि क्लबसँग रहने निर्णय लिएका हुन् । मिक्छेनलाई अध्यक्ष अरुनमान जोशीले १४ नम्बर अंकित जर्सी दिएर क्लबमा स्वागत गरे ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस पटक लिग २९ कात्तिकबाट आयोजना गर्दैछ । पुरस्कार राशीसमेत बढाएको एन्फाले गत बर्षको ५० लाखलाई बढाउँदै यस पटकको विजेताले ७५ लाख पाउने जनाएको छ । यस्तै दोस्रो हुने टोलीले ५० लाख पाउनेछ ।
१४ क्लब सहभागी लिगको पुछारमा रहने टोली बी डिभिजनमा घटुवा हुनेछ । गत सिजन सरस्वती युथ क्लब बी डिभिजनमा घटुवा हुँदा बी डिभिजन लिगबाट सातदोबाटो युथ क्लब ए डिभिजन लिगमा बढुवा भएको थियो ।


