काठमाडौं । यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयका सदस्य विजय गौतमले जानकारी दिएका छन् ।
आन्दोलनरत यातायात मजदुरले आह्वान गरेको सार्वजनिक यातायात बन्दको कारण आज काठमाडौं उपत्यकाको यातायात प्रभावित भएका थिए ।
बिहानैदेखि काठमाडौंका विभिन्न रुटमा चल्ने सार्वजनिक यातायातका सवारी साधन न्यून संख्यामा चलेका छन् ।
यातायात बन्दका कारण धेरै जसो विद्यालयको पठनपाठन पनि प्रभावित भएको छ । धेरै जसो विद्यालयले आज बिदा दिएका छन् ।
यातायात मजदुर तथा यातायात व्यवसायीहरु विभिन्न १० बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।
पहिलो पटकको ट्राफिक नियम उल्लंघनमै १५ सय रुपैयाँ जरिवाना तिर्नु पर्ने नियमको उनीहरुले विरोध गरेका छन् भने ट्राफिक प्रहरीले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमको पनि उनीहरुले विरोध गरेका छन् ।
.jpg)


