एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनौट खेल अन्तर्गत युरोपेली छनौट खेलमा आज राति रोमाञ्चक खेलहरु हुदैछ । जसमा आज ११ खेल हुँदै छन् । उक्त सबै खेल नेपाली समयअनुसार राति १२ः३० बजेबाट सुरु हुनेछन् ।
आज राति बलियो टोली इंग्ल्याण्ड र पोल्यान्डले एक–अर्काको सामना गर्दै छन् भने जर्मनी, स्पेन, इटाली र बेल्जियम पनि प्रतिस्पर्धामा छन् । पोल्यान्डले आज घरेलु मैदानमा इंग्ल्याण्डलाई आतिथ्यता प्रदान गर्दै छ । समूह ‘आई’मा इंग्ल्याण्ड शीर्ष स्थानमा तथा पोल्यान्ड दोस्रो स्थानमा छ ।
यस्तै, स्पेनले आज कोसोभोसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दै छ । स्पेन समूह ‘बी’को शीर्ष स्थानमा छ भने कोसोभो तेस्रो स्थानमा छ । सोही समूहका ग्रिस र स्विेडनले पनि आजै हुने अर्को खेलमा प्रतिस्पर्धा गर्ने छन् ।
बेल्जियमले बेलारुससँग खेल्ने छ भने इटालीले लिथुनियासँग खेल्ने छ । त्यसबाहेक वेल्स, स्विट्जरल्यान्ड, हङ्गेरी पनि प्रतिस्पर्धामा छन् ।


