एजेन्सी । सन् २०२२मा कतारमा आयोजना हुने फिफा विश्वकप छनौट खेलमा युरापेली च्याम्पियन इटालीले सानदार जित निकालेको छ ।
गएराति भएको खेलमा इटालीले लिथुआनियालाई ५-० गोल अन्तरले पराजित गरेको हो । घरेलु टोली इटालीको सानदार जितमा फरवार्ड मोइस किनले २ गोल गरे । यस्तै जियाकोमो रास्पाडोरी र जियोभानी डि लोरेन्जोले समान एक-एक गोल गरे । एक गोल उपहार पाएको थियो ।
खेलको ११औं मिनेटमा मोइस किनले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेट नबित्दै मिनेटमा इडगारास उटकुसले आत्मघाती गोल गरेपछि इटालीले २-० को अग्रता बनायो ।
त्यस्तै खेलको २४ औं मिनेटमा जियाकोमो रास्पाडोरीले गोल गर्दै इटालीलाई ३(० को अग्रता दिलाए । मोइस किनले २९औं मिनेटमा फेडरिको बर्नरडेस्चीको पासमा गोल गर्दै इटालीलाई ४-० को अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको खेलको ५४औं मिनेटमा जियोभानी डि लोरेन्जोले फेडरिको बर्नरडेस्चीको पासमा गोल गर्दै इटालीलाई ५-० को सानदार जित दिलाए ।
उक्त जितसँगै इटालीले समूह ‘सी’ मा ६ खेलबाट १४ अंक जोडेर आफ्नो शीर्षतालाई यथावत राखेको छ । लिथुआनियाले अंकको खाता खोल्न सकेको छैन ।


