नुवाकोटको विदुर नगरपालिका–५ माझिटारमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार मृत्यु हुनेमा विदुर नगरपालिका–११ गेर्खुका विष्णु प्याकुरेल रहेका छन् ।
पिपलटारबाट बट्टारतर्फ जाँदै गरेको बा.प्र.०२–२२ प २७७२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउको कलबोटमा ठोक्किँदा प्याकुरेल गम्भीर घाइते भएका थिए ।
उपचारको क्रममा त्रिशूली अस्पतालमा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि बसेका अस्थायी प्रहरी चौकी विदुरमा कार्यरत प्रहरी जवान भीमप्रसाद महत घाइते भएका छन् ।
उनको टाउको र दाहिने हातमा गम्भीर चोट लागेको छ । उनलाई सामान्य उपचारपछि काठमाडौं पठाइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.jpg)


