भदौ २४ काठमाडौं । बंगलादेशसँगको पहिलो अन्तर्राट्रिय मैत्रिपूर्ण खेलमा नेपाल विजयी भएको छ । बिहिवार दशरथ रंगशालामा भएको खेलमा नेपालले पाहुना टोली बंंगलादेशमाथि २-१ गोलको जित निकालेको हो । नेपालको जितमा सविता राना मगर र प्रीती राईले एक एक गोल गरिन् ।
पहिलो हाफमा २-० गोलको अग्रता बनाएको नेपालका लगि डेब्यु खेलाडी सविता राना मगर र प्रीती राईले गोल गरेकी थिइन् । खेलको १३औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । २३औं मिनेटमा अर्का डेब्यु मिडफिल्डर प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।
तुलनात्मक रुपमा दोस्रो हाफमा सानदार प्रदर्शन गरेको बंगलादेशले खेलको ८३औ थोउरा खातुनले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गरि खेलमा फर्काउने प्रयास गरेकी थिइन् तर सफल भने भइनन् ।
दोस्रो मैत्रीपुर्ण खेल आइतबार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी कप २०२२ छनोट अघि नेपाल र बंगलादेशले दुई मैत्रीपुर्ण खेल खेलेको हो । नेपाली महिला टोलीले सन् २०२२ मा भारतमा हुने एसियन कपको छनोटका लागि उज्वेकिस्तानमा दुई खेल खेल्नेछ । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले १८ सेप्टेम्वरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङको सामना गर्नेछ ।


