एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको छनौट खेलमा ब्राजिलले आफ्नो विजयी यात्रा कायमै राखेको छ ।
शुक्रबार बिहान भएको विश्वकपको दक्षिण अमेरिकी छनोटतर्फ पेरुमाथि २-० गोलको जित निकाल्दै ब्राजिलले आठौँ जित दर्ता गरेको हो ।
घरेलु मैदानमा ब्राजिलको जितमा फरवार्ड नेयमारको भूमिका उल्लेखनीय रह्यो । उनले एक गोल र एक असिस्ट गरे भने एभर्टन रिबेइरोले एक गोल गरे । दुबै गोल पहिलो हाफमै सम्भव भएको थियो ।
खेलको १४औं मिनेटमा रिबेइरोले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । उनले नेयमारको पासमा गोल गरेका थिए ।
यस्तै, ४०औं मिनेटमा नेयमारले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा २-० गोलको अग्रता बनायो । त्यसपछि बाँकी समय थप गोल नहुँदा ब्राजिल २-० गोलले विजयी भयो ।
उक्त जितसँगै शीर्ष स्थानको ब्राजिलले ८ खेलमा २४ अंक जोडेको छ । यता पराजित पेरु भने ८ अंकसहित सातौं स्थानमा छ ।


