काठमाडौं । सरकारले मिटरब्याज पीडितसँग छलफल गर्नका लागि वार्ता टोली बनाएको छ । गृह, कानुन र प्रधानमन्त्री कार्यालयका सहसचिव र उपसचिव रहेको ४ सदस्यीय वार्ता टाली गठन गरिएको हो।
गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उपसचिव दिलकुमार तामाङ र प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगा बहादुर दंगासहितको वार्ता टोली गठन गरिएको स्रोतले जानकारी दिएको छ ।
उक्त वार्ता टोलीले मिटरब्याज पीडितहरुसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सो बारेमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नेछन् । लगत्तै प्रधानमन्त्रीले मिटरब्याज पीडितलाई भेटेर माग सम्बोधन गर्ने बताइएको छ ।
बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितको माग सम्बोधन गर्नेगरी प्रधानमन्त्री प्रचण्डले सोमबार बेलुकी नै सरकारी अधिकारी र सचिवालयका सदस्यहरूलाई खटाएका थिए। उनीहरुले वीर अस्पतालमा पुगेर पीडित भेटी समस्या समाधानका लागि प्रधानमन्त्री तयार रहेको जानकारी गराएका थिए ।
.jpg)


