एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेडबाट डेब्यु गरेका खेलमा सानदार गोल गरेका छन् ।
रोनाल्डोले पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । मेसन ग्रिनवुडको प्रहार गोलरक्षक फ्रेडी वुडम्यानले रोकेपछि आएको रिबाउन्डमा रोनाल्डोले सहजै गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १-० गोलको अग्रता दिलाएका छन् ।
३६ वर्षीय फरवार्ड १२ वर्षपछि ओल्ड ट्राफोर्ड फर्किएका हुन् । युनाइटेडले सहरी प्रतिद्वन्द्वी क्लब म्यानचेस्टर सिटीबाट उम्काएर पाँच पटकका बालोन डी‘ओर रोनाल्डोलाई ओल्ड ट्राफोर्ड फर्काएको हो ।
यसअघि उनी सन् २००३ देखि २००९ सम्म ओल्ड ट्राफोर्ड बसेका थिए । ६ वर्ष इङ्ग्ल्यान्ड बसाइका क्रममा उनले दुई सय ९२ खेल खेलेर एक सय १८ गोल र ६९ असिस्ट गरेका थिए ।
त्यसबाहेक उनले एउटा बालोन डी‘ओर त्यहीबाट जितेका थिए भने एक पटक च्याम्पियन्स लिग र तीन पटक प्रिमियर लिगको उपाधि जितेका थिए ।


