काठमाडौँ । सहरी विकास मन्त्रालयले सिंहदरबार भित्रको फोहोर व्यवस्थापनको वैकल्पिक उपाय खोजेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि मन्त्रालयले सिंहदरबार भित्रको फोहोर व्यवस्थापन गर्ने वैकल्पिक उपाय अबलम्बन गरेको हो ।
महानगरका मेयर बालेन्द्र शाह 'बालेन' को निर्देशनपछि चैत २५ गतेदेखि सिंहदरबारको फोहोर उठाइएको छैन । बालेनले आफ्नो काममा संघीय सरकारले सहयोग नगरेको फेहरिस्त सार्बजनिक गर्दै सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए ।
महानगरले फोहोर नउठाउने भनेपछि मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले फोहोर व्यवस्थापनका लागि परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी फोहोर उठाउन थालेको जानकारी दिएको छ ।
सहरी विकास मन्त्री सीता गुरुङले मन्त्रीस्तरीय निर्णय गर्दै परिवर्तन सेवा प्रालिसँग सम्झौता गरेर फोहोर उठाउन थालेको हो ।
मन्त्रालयले भनेको छ- 'काठमाडौं महानगरपालिकाले संवैधानिक एवम् कानुनी प्रावधानविपरीत फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा आफ्नो दायित्वबाट विमुख भई अवरोध सिर्जना गरेको अवस्थामा सिंहदरबार केन्द्रीय सचिवालय रहेको परिसर, अतिविशिष्ट र विशिष्ट पदाधिकारीहरुको निवास रहेको स्थानबाट फोहोरमैला उठाइ व्यवस्थापन गर्ने कामका लागि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी व्यवस्थापन गरिरहेको छ ।'
नेपालको संविधानको अनुसूची ८ र आधारभूत सफाइ तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम फोहोरमैलाको प्रबन्ध र व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको हो । तर, काठमाडौं महानगरपालिकाले फोहोर मैला व्यवस्थापनका सन्दर्भमा संघीय सरकारले विगतमा भएका सहमति पालना नगरेको भन्दै फोहोरमैला व्यवस्थापन कार्य रोकेको छ ।
.jpg)


