एजेन्सी । प्रिमियर लिग फुटबलमा लिभरपुलले लिड्स युनाइटेडलाई हराएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले लिड्समाथि ३–० गोलको सहज जित निकालेको हो ।
लिड्सको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुललाई जिताउन मोहम्मद सालाह, फाबिन्हो र साडियो मानेले एक–एक गोल गरे । खेलको २०औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै दोसा्रो हाफको खेलको ५०औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । लिड्सका पास्कल स्त्रुजिले ६०औं मिनेटमा रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित बनेको थियो । त्यसपछि खेलको इन्ज्युरी समयमा मानेले गोल गरेपछि लिभरपुलले ३–० गोलको जित निकालेको हो ।
उक्त जितसँगै लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ । उसले चार खेलमा १० अङ्क जोडेको छ । यता पराजित लिड्स भने दुई अङ्कसहित १७औं स्थानमा छ । त्यस्तै उक्त खेलमा एक गोल गरेका मोहम्मद सालाहले प्रिमियर लिग फुटबलमा १०० गोलको कोशेढुंग पूरा गरेका छन् ।


