बुधबार, कार्तिक १९ गते २०८३
images
images

देशका केही स्थान पश्चिमी वायुको प्रभावले हल्का वर्षा

एक्सप्रेस पाना
बैशाख ३१, २०८० आइतबार
  • 221
    SHARES
  • देशका केही स्थान पश्चिमी वायुको प्रभावले हल्का वर्षा

    काठमाडौँ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले काठमाडौँसहित देशका केही स्थानमा हल्का वर्षा भएको छ ।

    images

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ ।

    “पश्चिमी वायुको प्रभावले काठमाडौँमा अहिले छिटफुट वर्षा भएको छ, दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा छिटफुट वर्षाको सम्भावना छ”, महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने ।

    images

    काठमाडौँमा आज बिहानैदेखि आंशिक बदली रहनुका साथै भर्खरै छिटफुट वर्षासमेत भएको छ । उपत्यकामा खण्डित रुपमा वर्षा भएको माशाखाले जनाएको छ ।
     
    ‘मोखा’ चक्रवातको प्रभाव छैन
     बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने महाशाखाकाले उल्लेख गरेको छ । मौसमविद् समीर श्रेष्ठले नेपालमा मोखा चक्रवातको कुनैपनि प्रभाव नरहेको बताए । 

    “चक्रवात पूर्वतर्फ सरिरहेको छ, नेपालमा यसले असर गर्दैन”, उनले भने, “नेपाललाई नछोइकन बङ्गालको खाडी हुँदै तटीय क्षेत्रमा अघि बढेको चक्रवातले भुटान, बङ्गलादेश, थाइल्याण्ड र म्यानमारमा मुख्य असर पर्ने देखिन्छ ।”

    उक्त चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएर उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बङ्गलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको महाशाखाले जनाएको छ ।