काठमाडौं उपत्यकामा आजदेखि दुई साताका लागि मेलम्चीको पानी वितरण बन्द गरिएको छ ।
आयोजना स्थलको मुहानमा मर्मत सम्भार गर्न भन्दै पानी वितरण बन्द गरिएको हो ।
सिन्धुपाल्चोकको हेलम्बु-१ स्थित मेलम्ची हेडवर्क्स एवं सुरुङ मर्मतका लागि वितरण बन्द गरिने भएको हो। मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार यो काम गरेपछि सामान्य बाढी आएका बेलामा पनि आयोजना सञ्चालनमै राख्न सकिने छ ।
मेलम्चीको पानी पहिलोपटक २०७७ फागुन २२ गते सुन्दरीजलमा ल्याइएको थियो । सोही वर्षको चैत १५ देखि परीक्षण स्वरुप पानी वितरण गरिएको थियो । तर २०७८ असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनास्थलमा ठूलो क्षति पुर्याएपछि पानी वितरण बन्द भएको थियो । तर मुख्य सुरुङ सुरक्षित रहेकाले ढुंगा माटो पन्छाएर २०७८ चैत अन्तिमतिर पुनः पानी वितरण गरिएको थियो ।
.jpg)


