एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले बर्नलीमाथि सहज जित निकालेको छ । सोमबार राति गुडसन पार्कमा भएको खेलमा एभर्टनले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन माइकल केन, एन्ड्रोस टाउनसेण्ड र डेमाराई ग्रेले १-१ गोल गरे । बर्नलीका लागि बेनमीले १ गोल गरे ।
खेलमा अग्रता भने पाहुना टोली बर्नलीले बनाएको थियो । निकै रोमाञ्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो चभने दोस्रो हाफको खेलको ५३औं मिनेटमा बेनमीले बर्नलीलाई अग्रता दिलाए ।
त्यस्तै खेलमा १-० गोलले पछि परेको घरेलु टोलीको लागि ६०औं मिनेटमा माइकलले गोल गर्दै टोलीलाई १-१ को बराबरीमा ल्याए । बराबर गोल गरेको पाँच मिनेटमै एन्ड्रोसले २-१ को अग्रता दिलाए । ६६औं मिनेटमा ग्रेले एभर्टनको लागि तेस्रो गोल गर्दै ३-१ को जित पक्का गरे ।
उक्त जितसँगै एभर्टन तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको ४ खेलबाट १० अंक बनाएको छ । यता पराजित बर्नली समान ४ खेलबाट एक अंकसहित १८औं स्थानमा रहेको छ ।


