भदौ २९ काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।
ओमानको राष्ट्रिय क्रिकेट एकेडेमीको अल एमिरात क्रिकेट ग्राउन्डमा नेपाल ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१.१ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।
ओमानको जितमा जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ्स खेले। विस्फोटक ब्याटिङ गरेका उनले ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गरे । उनले पाँचौ ओभरमा सोमपाल कामीविरुद्ध एकै ओभरमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडेका थिए।
यस्तै सुरज कुमारले २० रन जोड्दा आयन खानले १८ रन बनाए। सोइब खान ७ रनमा आउट हुँदा कप्तान जिसन मक्सुद ४ रनमा आउट भए। मोहमद नदीम ३८ रनमा अविजित रहदा सन्दीप गउड सुन्य रनमा अविजित रहे ।
नेपालका करण केसी र कुशल मल्लले २/२ विकेट लिए । सुशन भारीको नाममा १ विकेट रह्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै एक सय ९६ रन बनायो । नेपालका लागि आरिफ शेखले ९० रनको अर्धशतकीय इनिङ्ग्स खेले । यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २१ रन जोड्दा करण केसीले २१, रोहितकुमार पौडेलले २०, सन्दीप लामिछानेले २६ बल खेल्दा १६ रन जोडे ।
सोमपाल कामीले सात, विनोद भण्डारीले ६, कुशल मल्लले चार र विक्रम सोबले दुई रन बनाए भने सुशन भारीले अजिवित दुई रन जोडे । कुशल भुर्तेल भने शून्य रनमा पेभेलियन फर्किए । यता ओमानका लागि बलिङतर्फ बिलाल खानले चार विकेट लिए भने नेस्टर धाम्बाले दुई तथा मोहम्मद नदीम र जिसन मकुबले एक-एक विकेट झारे ।


