एजेन्सी । युरोपको सर्वाधिक ठुलो क्लब फुटबल प्रतियोगिता (युइएफए) च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।
मङ्गलबार राति भएको समूह चरणको खेल खेलमा युनाइटेड स्विस क्लब योङ्ग ब्वाइजसँग २-१ गोलले पराजित भएको हो ।

स्विट्जरल्यान्डस्थित बेर्नमा भएको खेलमा घरेलु टोलीले अन्तिम समय गोल गर्दै युनाइटेडलाई पराजित भएको छ । खेलमा सुरुवाती अग्रता भने पाहुना टोली युनाइटेडले बनाएको थियोे ।खेलको १३औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई पहिलो हाफभरि १-० गोलको अग्रता दिलाए ।
खेलको ३५औं मिनेटमा आरोन वान–बिसाकाले रातो कार्ड खाँदै मैदानबाट बिदा लिएपछि युनाइटेड १० खेलाडीमा सीमित बनेको थियो । त्यसपछि दोस्रो हाफको खेलको ६६औं मिनेटमा मौमी नगमलउले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए ।
खेलको इन्ज्युरी समयमा थिसन सिबाचेउले गोल गर्दै योङ्ग ब्वाइजको जित पक्का गरे । उक्त जितसँगै समूह ‘एफ’को योङ्ग ब्वाइजले ३ अंक जोड्दै सुखद सुरुवात गरेको छ । यता पाहुना टोली युनाइटेडले भने हारबाट प्रतियोगिताको थालनी गरेको छ ।


