बिहीबार , कार्तिक २० गते २०८३
images
images

ताप्लेजुङको पहिरोमा फसेका घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार

एक्सप्रेस पाना
आषाढ ४, २०८० सोमबार
  • 396
    SHARES
  • ताप्लेजुङको पहिरोमा फसेका घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार

    फुङ्लिङ । ताप्लेजुङको पहिरोमा परी गम्भीर घाइते भएका सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङका राजकुमार राईलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

    images

    नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि विराटनगर लगिएको छ । 

    जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सेनाको हेलिकप्टर उद्धारका लागि यहाँ पुगे पनि भारी वर्षा र मौसमका कारण निलगिरि माविको खेलमैदानमा डेढघण्टा रोकिएको थियो ।

    images

    मौसममा केही सुधार आएसँगै हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

    पहिरोले बगाएका राजकुमारलाई स्थानीयले घाइते अवस्थामा उद्धार गरेका थिए ।

    “उनिसँगै उद्धार गरिएका सुरेश राईको मृत्यु भइसकेको छ भने पहिरोले बगाएका सुरेशका बुबा केशरकुमार मृत अवस्थामा फेला परेका छन्”, उनले भने  । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका बाबु छोराको मृत्यु भएको छ ।

    आज बिहान गएको पहिरोमा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो । 

    आइतबार सोही गाउँका ३० वषीृय गणेश तामाङको शव फेला परेको थियो । 

    प्रहरी नायब उपरीक्षक लिम्बूका अनुसार मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढा क्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या बुढा क्षेत्री र नाति नौ वर्षीय प्रज्वल बुढा क्षेत्री अझै बेपत्ता छन् ।

    बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिए । 

    पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते भएका जिल्ला कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक कुशुराम कार्कीले जानकारी दिए । उहाँका अनुसार राईको उद्धार गरी उपचारका लागि विराटनगर लगिएको छ ।

    निरन्तर अविरल वर्षा भइरहेकाले बेपत्ताको खोजी तथा उद्धारमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाले बताए ।