काठमाडौं । नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसको ७ औँ राष्ट्रिय महाधिवेशनबाट खुलातर्फको उपमहासचिव पदमा बलदेव तामाङ र जनार्दन भट्टराई निर्वाचित भएका छन् । तामाङले ४६९ मत ल्याई उपमहासचिव पदमा निर्वाचित भएका हुन।
गत महाधिवेशनमा नेपाल ट्रेड युनियन काँग्रेसमा अत्याधिक मत पाएर केन्द्रीय सदस्य विजयी भएका तामाङ ट्रेड युनियन आन्दोलनमा लोकप्रिय युवा नेताको रूपमा स्थापित छन् । तामाङले नेपाल ट्रेड युनियन काँग्रेसलाई देखिने र महसुस गर्न सकिने युनियनका रुपमा विकास गर्ने मुख्य एजेण्डा लिएर उम्मेदवारी दिएका थिए। त्यस्तै नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित भएका छन् ।
संस्थापन पक्षका उम्मेदवार कुवँरले शेखर-गगन पक्षका महेन्द्र यादवलाई ६५ मतान्तरले पराजित गरेका हुन् । शुक्रबार सुरु भएको ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशनबाट पदाधिकारीका अन्य पदमा शेखर- गगन पक्षका उम्मेदवारले जितेका छन् । वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की, खुला उपाध्यक्षमा गणेशबहादुर केसी, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनाल, सेवा क्षेत्रतर्फको उपाध्यक्षमा नेत्रबिक्रम थापा, उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ, अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा राजेश पालिखे निर्वाचित भएका छन् ।
महासचिवमा अजयकुमार राई ४६४ मतका साथ निर्वाचित हुँदा पराजित डीपी अर्यालले ३३७ मत पाए ।त्यस्तै सेवा क्षेत्रतर्फको उपमहासचिवमा देवदत्त बडु, उत्पादन क्षेत्रको उपमहासचिवमा कुलबहादुर खड्का, अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपमहासचिवमा रुकमणी थापा अर्चना निर्वाचित भएका छन् । कोषाध्यक्षमा सञ्जयकुमार दाहाल र सहकोषाध्यक्षमा रसामाया गुरुङ निर्वाचित भएका छन् । सदस्यतर्फको मत गणना भने जारी छ । ट्रेड युनियन कांग्रेसको केन्द्रीय समिति ४९ सदस्यीय हुने व्यवस्था छ।
.jpg)


