असोज २ काठमाडौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपाल आफ्नो तेस्रो खेलमा अमेरिकासँग ६ विकेट पराजित भएको छ ।
शुक्रबार अल अमेरात क्रिकेट मैदानमा नेपालले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। अमेरिकाका लागि स्टेभिन टेलोरले ९२ रनको अर्धशतकीय पारी खेले । ६३ बल खेलेका उनले १२ चौका र ३ छक्का प्रहार गरे । अमेरिकाका लागि मोनाङ्क पटेलले ३८ रन बनाउँदा जसकरन मलोत्राले ३६ रनको योगदान गरे ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान दुई–दुई विकेट लिए । यसअघी टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको थियो ।
नेपालका लागि कप्तान मल्ले अर्धशतकीय पारी खेले । १०५ बल खेलेका मल्लले ३ चौकाको सहयोगमा ५५ रन बनाए । त्यस्तै ओपनर कुशल भुर्तेलले ३६ रनको योगदान गरे । त्यस्तै गुलसन झाको २८ रन बाहेक अन्य ब्याट्सम्यानहरुको योगदान ठूलो रहेन।
अमेरिकाका लागि कप्तान सौरभ नेत्रभाल्करले सर्वाधिक ४ विकेट लिँदा केल फिलिपले ३ तथा करिमा गोरे, इल्मोर हचिन्सन र नोस्टुस केन्जिगेले समान १/१ विकेट लिए।


