बिहीबार , कार्तिक २० गते २०८३
images
images

साउनको अन्तिम सोमबार: देशमरका शिवालयमा भक्तजनको भीड

एक्सप्रेस पाना
श्रावण २९, २०८० सोमबार
  • 329
    SHARES
  • साउनको अन्तिम सोमबार: देशमरका शिवालयमा भक्तजनको भीड

    काठमाडौँ । सौरमास अनुसार साउनको अन्तिम सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

    images

    विगतका सोमबारभन्दा आज अन्तिम सोमबार भएकाले पशुपतिसहित राजधानीका अन्य शिवालयमा भक्तजनको धेरै भीड देखिएको हो । 

    आज अन्तिम सोमबार भएकाले भक्तजनहरु बिहानैदेखि दर्शनका लागि आउने हुँदा बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए । उनका अनुसार विशेषगरी साउने सोमबारको व्रत बसेका महिला भक्तजन आज शिवालयहरुमा दर्शनका लागि लाम लागेका छन् । 

    images

    पशुपति क्षेत्रमा तीज एवं महाशिवरात्रिमा जस्तै व्यवस्था गरिएको कोषले जनाएको छ । भक्तजन जुन ढोकाबाट दर्शनका लागि प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने व्यवस्था गरिएको पराजुलीले बताए ।

    अधिकांश रातो र हरियो पहिरनमा सजिएका महिला भक्तजनमध्ये कतिपय तस्बिर खिच्न र टिकटक बनाउनकै लागि शिवालयमा आएका जस्तो देखिएको दर्शनार्थी राजेन्द्रप्रसाद श्रेष्ठले बताए । 

    यसवर्ष सौरमास अनुसार साउनमा पाँच सोमबार परेका छन् । साउने सोमबारको आज अन्तिम दिन भए पनि यसपछि चान्द्रमास अनुसार साउनका सोमबार बाँकी छन् ।

    यसवर्ष साउनमा अधिकमास (मलमास) परेकाले व्रत गर्न हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर देखिएको छ । 

    एकथरी धर्मशास्त्रीले प्रत्येक वर्ष सौरमास अनुसार साउन महिनाको सोमबार गरिने व्रत भएकाले यो नित्यकर्ममा पर्ने तर्कसहित व्रत, उद्यापन गर्न हुने तर्क गरेका छन् ।

    अर्काथरीले अधिकमासमा भगवान् पुरुषोत्तमको मात्र पूजा, आराधना गरिने भएकाले चान्द्रमास अनुसारको साउनमा मात्र व्रत र उद्यापन गर्नुपर्ने तर्क राखेका छन् । 

    May be an image of 5 people, temple and text

    संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उक्त विषयमा आधिकारिक निर्णय नगरिएको जनाउँदै कुल, परम्परा अनुसार नै वर्तालुले साउने सोमबारको व्रत गरेका बताएको छ । साउनको सोमबार आज पशुपतिनाथमा बोल बम यात्रीको पनि भीड लागेको छ ।

    सुन्दरीजलस्थित वाग्मतीको मुहान क्षेत्रबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउन भक्तजन आइतबार साँझ नै सुन्दरिजल पुगेका थिए । ती भक्तजनले आज बिहान स्नान गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथ मन्दिरमा चढाएका हुन् । बोल बम यात्रीलाई जल चढाउन पशुपतिनाथ मन्दिरमा एउटा ढोकाको व्यवस्था गरिएको संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुलीले जानकारी दिए । 

     पशुपतिनाथसँगै आज राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।

    यसैगरी राजधानी बाहिरका ठूलासाना शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ । साउनमा शिवालयमा शुद्धजलसहित पूजा, आराधना गरेमा मनोकामना पूरा हुने शास्त्रीय मान्यता छ ।

    साउनको सोमबार पारेर पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना गर्ने भक्तजन पनि धेरै हुने कोषले जनाएको छ । कोषका अनुसार साउने सोमबारमा रू सात हजार पाँच सय बढीको मात्र विशेष पूजा गर्न सकिने व्यवस्था गरिएको छ ।