विराटनगर । उच्च अदालत विराटनगरले धरान उपमहानगरका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश र धरपकड नगर्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो।
रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नो जमिनमा प्रवेश गरेर धरपकड गरेको भन्दै साम्पाङविरूद्ध रिट दायर गरेका थिए।
धरान ४ स्थित छोटी मोरङ डाँडामा साम्पाङले ६ साउनमा वृक्षरोपण गरेपछि विवाद सिर्जना भएको थियो। वृक्षरोपण गरेको जग्गा अधिकारी दम्पतीले आफ्नो भएको दाबी गर्दै आएका छन्। मेयर साम्पाङले भने सर्दु सट्टाभर्नाको जग्गा भएकाले वृक्षरोपण गरेको दाबी गरेका छन्।
गत सोमबार मेयर साम्पाङ पुन: सो जग्गामा पुगेपछि अधिकारी दम्पतीले प्रतिवाद गरेका थिए। सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
विवादपछि साम्पाङले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रशासनमा उजुरी पनि दिएका छन्। उजुरी परेपछि अधिकारी दम्पती निषेधाज्ञा माग गर्दै उच्च अदालत विराटनगर आएका थिए। जिल्ला प्रशासन कार्यालयलगायत विपक्षीको नाममा कानुन बमोजिम बाहेक निवेदकलाई पक्राउ नगर्न र निवेदकको जग्गामा प्रवेश नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको छ।
.jpg)


