बिहीबार , कार्तिक २० गते २०८३
images
images

आत्महत्या रोकथाम दिवस : रोकथाम गर्न सचेतना कम

एक्सप्रेस पाना
भाद्र २४, २०८० आइतबार
  • 214
    SHARES
  • आत्महत्या रोकथाम दिवस : रोकथाम गर्न सचेतना कम

    काठमाडौँ, २४ भदौ : नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको देखिएको छैन। मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिनुहुन्छ। 

    images

    आज विश्व आत्महत्या रोकथाम दिवस मनाइरहँदा एक दिन दिवस मनाउने मात्र नभई वर्षभरि नै समुदायलाई सचेत गराउने गरी कार्यक्रम गर्नुपर्नेमा विज्ञहरूको जोड छ। नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी आत्महत्या रोकथाम दिवस मनाइँदै छ।

    मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना सरकारले रोकथामका नीति त्यसैगरी ल्याउनुपर्ने, सङ्घसंस्था तथा स्थानीय तहले पनि सचेतनामूलक कार्यक्रमसहितका गतिविधि सञ्चालन गर्नुपर्ने र सञ्चारमाध्यमबाट पनि रोकथाम तथा न्यूनीकरणका लागि सन्देशमूलक र सावधानी अपनाउने गरी समाचार सम्प्रेषण गर्न सके न्यूनीकरणमा सहयोग पुग्ने बताउनुहुन्छ। आत्महत्याका घटना बढेपछि नेपालमा त्यसप्रति कुनै पनि निकाय गम्भीर नभएको उहाँको भनाइ छ। 

    images

    नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा छन्। पछिल्लो १० वर्षको तथ्याङ्कअनुसार ५६ हजार बढीले आत्महत्या गरिसकेका छन्। यो सङ्ख्या त्यसको अघिल्लो १० वर्षको तुलनामा निकै बढी हो। नेपाल प्रहरीका नायब महानिरीक्षक कुवेर कडायत आत्महत्याका घटना बढ्दो क्रममा रहेको बताउनुहुन्छ। आत्महत्याका घटना न्यूनीकरणमा ध्यान दिनुपर्नेमा उहाँ सुझाव दिनुहुन्छ। 

    गत आर्थिक वर्षमा मात्रै झण्डै सात हजारले आत्महत्या गरेका थिए। विसं २०७० मा चार हजार पाँच सय जनाले आत्महत्या गरेकामा १० वर्षपछि आव २०७९÷८० मा सो सङ्ख्या बढेर सात हजार पुग्नु चुनौतीपूर्ण अवस्था रहेको मनोविद् तथा मनोचिकित्सक बताउँछन्। अझ कोभिड-१९ को समयमा आत्महत्या गर्नेको सङ्ख्या बढेको थियो। त्यसैले यसलाई मानसिक स्वास्थ्य समस्याका रूपमा हेरेर रोकथामतर्फ लाग्नुपर्नेमा उहाँहरूको जोड छ। 

    मनोविद् डा ठगुन्ना आत्महत्या गर्न खोज्ने व्यक्तिले पहिले नै कुनै न कुनै सङ्केत दिने र गतिविधि देखाउने हुँदा त्यस्ता गतिविधिको ख्याल गर्न सकियो भने रोक्न सकिने बताउनुहुन्छ। परिवार वा अरुले बेवास्ता गरेमा मात्रै ऊ आत्महत्याको बाटो रोज्न पुग्ने उहाँको भनाइ छ।