काठमाडौँ । इजरायलमा हमास समुहले गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको छ। इजरायल र गाजाको सीमा क्षेत्रको कृषि फर्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको परराष्ट्र स्रोतले बताएको छ। यद्यपी औपचारिक रुपमा परराष्ट्रले अझै जानकारी दिएको छैन।
मृत्यु हुनेको विवरण संकलन गर्ने काम भइरहेको र यस आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेका आशंका गरिएको छ।
आक्रमणमा घाइते भएका नेपालीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
आइतबारको संसद बैठकमा बोल्दै परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा केही नेपाली सम्पर्कविहीन भएको बताएका थिए।
परराष्ट्रमन्त्री एनपी साउदका अनुसार इजरायलमा हाल ४५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन् भने इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत २६५ नेपाली विद्यार्थी अध्ययनरत छन्।
अध्ययनका निम्ति गएका मध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन्। सुदुरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ नेपाली दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए।
.jpg)


