असोज ५ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, उपकप्तान दीपेन्द्र सिंह एरी र बसन्त रेग्मीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।
ईपीएलले मंगलबार सार्वजनिक गरेको ईपीएल खेल्ने खेलाडी सूचीमा पारससँगै तीन खेलाडी टोलीमा परेका छैनन् । पारस विराटनगर वारिवर्समा आबद्द थिए ।पारस विराटनगरका कप्तान समेत रहेका थिए । उनको कप्तानीमा विराटनगरले दोस्रो संस्करणको उपाधि जितेको थियो ।
त्यस्तै पारसले दुई महिना अघि अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । तर, घरेलु क्रिकेट भने खेल्ने बताएका थिए ।
यस्तै नेपालका उपकप्तान दीपेन्द्र सिंहले समेत ईपीएल नखेल्ने भएका छन् । दीपेन्द्रले चोटको कारण नखेल्ने भएका हुन् । दीपेन्द्र काठमाडौं किङ्स ११ मा आबद्द थिए ।
त्यस्तै बलर बसन्त रेग्मीले समेत ईपीएल खेल्ने छैनन् । विराटनगरमै आबद्द रहेका उनी टोलीमा रहेका छैनन् । चौंथो संस्करणको ईपीएल शनिबारबाट सुरु हुँदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आयोजना हुने ईपीएलमा ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने छन् ।


