असोज ५ काठमाडौं । नेपाल एएफसी महिला एसियन कप-२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तानमा भएको छनौटको दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।
एसियन कपको सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको थियो । तर, नेपालले हङकङसँग बराबरीमा चित्त बुझायो ।
यस्तै उक्त बराबरीसँगै नेपालले पहिलो पटक हङकङसँग बराबरी खेलेको हो । यस अघिको दुई भेटमा नेपाल पराजित भएको थियो। सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १-० ले पराजित भएको थियो। यस्तै १९८९ मा भएको दोस्रो भेटमा नेपाल हङकङसँग ३-० ले पराजित भएको थियो।
हङकङसँगको बराबरीसँगै समूह एफको नेपालले छनौटको २ खेलमा १ अंक जोड्यो । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको थियो । यता हङकङको भने १ अंक रहेको छ । अब हङकङले दोस्रो खेलमा फिलिपिन्ससँग खेल्नेछ ।


