असोज ६ काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले पन्जाब किङ्ग्समाथि रोमाञ्चक जित निकालेको छ । मङ्गलबार दुबईको अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा राजस्थानले पन्जाबलाई २ विकेटले हराएको हो ।
राजस्थानले दिएको १८६ रनको लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रिएको पन्जाबले निधारित २० ओभरमा ४ विकेटको क्षतिमा १८३ रन बनाउन सक्यो ।
पन्जाबका लागि मयाङ्क अग्रवालले ६७ रनको अर्धशतकीय इनिङ्ग्स खेले । कप्तान केएल राहुल ४९ रन जोडेका थिए । निकोलास पुरनले ३२ रन बनाउँदा एडिन मार्करामले अजिवित २६ जोडे । अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक रहेको अवस्थामा राजस्थानका बलर कार्तिक त्यागीले १ रन खर्चिएर २ विकेट लिएपछि पन्जाब जितबाट बन्चित भएको हो ।
बलिङतर्फ कार्तिक त्यागीले २ तथा राहुल टेबाटिया र चेतन सकारियाले १/१ विकेट दिए ।
त्यसअघि पन्जाबले टस जितेर बलिङ गर्ने निर्णय गरेसँगै ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभर खेल्दा अलआउट हुँदै १८५ रन जोडेको थियो ।
उक्त जितसँगै पाँचौँ स्थानको राजस्थानले ८ खेलमा ८ अंक जोडेको छ । सातौं स्थानको पन्जाबले ९ खेलमा ६ अंक जोडेको छ ।


