बिहीबार , कार्तिक २० गते २०८३
images
images

पाथीभरा मन्दिरमा दुई महिनामा ६८ लाख भेटी सङ्कलन

एक्सप्रेस पाना
पौष १३, २०८० शुक्रबार
  • 251
    SHARES
  • पाथीभरा मन्दिरमा दुई महिनामा ६८ लाख भेटी सङ्कलन

    ताप्लेजुङ, पुस १३ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनामा रु ६८ लाख बढी भेटी रकम सङ्कलन भएको छ। गत कात्तिक र मङ्सिरमा भक्तजनले चढाएको भेटी रकम रु ६८ लाख ११ हजार एक सय १० रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
     
    दुई महिनाको समेत गरी हाल बैंकमा रु आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ मौज्दात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो। 

    images

    पछिल्लो १५ महिनामा रिफाइन नगरिएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरी तौल गरिएको क्षेत्र विकास समितिले जनाएको हो। सोही अवधिमा नै ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ। विसं २०७७ भदौ १८ गतेदेखि २०७९ साल भदौ ६ गतेसम्मको रिफाइन गरिएको सुन ८६ तोला ९३ लाल थियो। यस्तै छ हजार पाँच सुय ३५ किलो सात सय ७५ ग्राम तामा र १६ हजार तीन सय ६८ किलो एक सय ग्राम घण्टीसमेत तौल गरेर भण्डारण गरिएको समितिले जनाएको छ। 

    पाथीभरा क्षेत्र विकास समिति २०५३ सालमा गठन भए पनि पाथीभरामा सङ्कलन भएको भेटीघाटी २०७६ सालदेखि पाथीभरा क्षेत्र विकास समितिले हेर्दै आएको समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो। 

    images

    तत्कालीन जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनको संयोजकत्वमा भेटीघाटी व्यवस्थापन समिति गठन गरेर भेटीघाटी व्यवस्थापन हुँदै आएको थियो। पुनः उक्त समिति विगठन गरी पाथीभरा क्षेत्र विकास समितिले नै हाल व्यवस्थापन गर्दै आएको छ। विसं २०७६ अघिसम्मको भेटीघाटी भने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले गर्दै आएको थियो।
     
    पाथीभरामा मङ्सिरपछि सङ्कलित भेटीघाटी गणनाका लागि थप कर्मचारी व्यवस्थापन गरेर गणनाका लागि आवश्यक तयारीमा खटाइएको हाङबाङले बताउनुभयो। पाथीभरा क्षेत्रलाई थप व्यवस्थित गर्दै लैजान केही जनशक्ति थपेर काम भइरहेको उहाँको भनाइ छ। 

    पाथीभरा क्षेत्रको सरसफाइ, भेटीघाटीलाई समयमै व्यवस्थापन गर्न र पाथीभराको प्रचारप्रसारसहितका सम्पूर्ण गतिविधिलाई आममानिसमा पुर्‍याउन थप कर्मचारी व्यवस्थापन गरेर अघि बढेको उहाँले बताउनुभयो। पाथीभरामा सङ्कलित भेटीघाटीलाई हरेक महिनामा सार्वजनिक गर्ने गरी आवश्यक तयारी भएको कार्यकारी निर्देशक हाङबाङको भनाइ छ।