असोज १० काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बलियो टोली ओमानको सामना गर्दैछ ।
कतारको राजधानी दोहास्थित कतार युनिभर्सिटीको मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
आसन्न साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफकै लागि यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो, जसमा नेपालले एक खेलमा बराबरी र एक खेलमा हार बेहोरेको थियो ।
साफ च्याम्पियनसिप माल्दिभ्समा अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।


