बिहीबार , कार्तिक २० गते २०८३
images
images

बन्द हेटौंडा सिमेन्टको उत्पादन असोजदेखि पुन: सुरु

एक्सप्रेस पाना
माघ २३, २०८० मंगलबार
  • 208
    SHARES
  • बन्द हेटौंडा सिमेन्टको उत्पादन असोजदेखि पुन: सुरु

    हेटौंडा, माघ २३ । साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। हेटौंडा–९ मा रहेको सरकारी स्वामित्वको यो उद्योग कोइलाको अभावले गर्दा गत असोजदेखि बन्द रहेको  थियो।

    images

    उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार कोइला सप्लायर्सलाई बक्यौता भुक्तानी गरेपछि पुनः कोइला आपूर्ति सुचारु भएको हो। उनका अनुसार उद्योगले कोइला सप्लायर्सलाई दिनुपर्ने रकम तिर्न नसक्दा कोइला आपूर्ति रोकिएको थियो। विगत केही समयदेखि लगातार घाटामा रहेका कारण उद्योगसँग नगद अभाव भएपनि मौज्दात सिमेन्ट बिक्री गरेर जुटाएको रकमले कोइला सप्लायर्सलाई भुक्तानी गरिएको उनले बताए।

    चार वर्षदेखि लगातार घाटामा रहेको यो उद्योग समय-समयमा कोइला अभाव र मेसिन बिग्रँदा बन्द हुने गरेको छ। ४० वर्ष पुराना मेसिनबाट सञ्चालन हुँदा पनि बारम्बार समस्या आउने गरेको महाप्रबन्धक पाण्डे बताउँछन्। उनले उद्योगको मेसिन मर्मत गरेर कहिलेसम्म चलाउने भन्दै सरकारसँग प्रश्न गरेका छन्।

    images

    पुराना मेसिनले गर्दा उत्पादन लागत बढ्ने र बजारमा निजी क्षेत्रका उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था रहेको महाप्रबन्धकको भनाई छ। सिमेन्ट उत्पादन गर्ने मुख्य मेसिन जीर्ण बनेकाले पूर्ण क्षमतामा काम गर्न नसकेको उनको भनाइ छ। नयाँ मेसिन नआएसम्म यी समस्या कायमै रहने र उद्योग नाफामा जान नसक्ने उनले बताएका छन्। 

    दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको यस उद्योगमा यो आर्थिक वर्ष २ लाख ४९ हजार ४५६ बोरा मात्र सिमेन्ट उत्पादन भएको छ। यसमध्ये करिब १ लाख बोरा सिमेन्ट अझै बिक्री हुन बाँकी रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए ।