काठमाडौं । पशुपति क्षेत्र विकास कोषले नजिकिदैं गरेको महाशिवरात्रि पर्व भव्यरुपमा मनाउने तयारी गरेको छ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न तयारी समिति तथा उपसमिति गठन गरी काम गरिरहेको जनाएको छ ।
महाशिवरात्रिका लागि आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साधुसन्तहरू आउने क्रम सुरु भएको छ । नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत साधुसन्त आउन थालेका विकास कोषले जनाएको छ । यस वर्ष पशुपतिनाथमा तीन हजारभन्दा बढी साधुसन्त आउने अनुमान गरिएको छ ।
पशुपति विकास कोष महाशिवरात्रि पर्व व्यवस्था मूल समिति २०८० ले मङ्गलबार एक कार्यक्रमको आयोजना गरी यस वर्षको महाविशरात्रि पर्वलाई भव्य बनाउने जनाएको हो । यसका लागि सबै क्षेत्र, तह, तप्काबाट सहयोग गर्नसमेत महाशिवरात्रि पर्व व्यवस्था मूल समितिले आग्रह गरेको छ ।
यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रिको लागी अहिले पशुपति क्षेत्रमा रङरोगन, सरसफाइ तथा स्वागतद्वार निर्माणकार्य सुरु गरिएको पशुपति विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
उनले भने, “महाशिवरात्रिका लागि पशुपतिमा रङरोगनसहित स्वागतद्वारहरूको निर्माणकार्य सुरु भएको छ, सम्भवतः आजसम्म स्वागतद्वार निर्माण सम्पन्न हुनेछ ।”
यसैगरी पशुपतिको मूल गेटसहितका अन्य स्वागतद्वारहरूलाई सजावट गरिएको छ भने बिहीबारदेखि पशिुपतिनाथको भित्रपट्टि रहेका तीन गेट तथा बाहिर निर्माण गरिएका पाँचवटा गेटलाई फूलले सजाइने प्रवक्ता अधिकारीको भनाइ छ ।
यस वर्ष पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनको स्वागतका लागि पिङ्गलास्थान, गौशला, जयबागेश्वरी, उमाकुण्ड तथा तिलगङ्गा क्षेत्रमा स्वागतद्वार निर्माण गरिन थालिएको कोषले जनाएको छ ।
महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोष परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाका जनशक्ति परिचालन गरी व्यवस्थित गर्ने तयारी गरेको छ ।
महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी मूल शिविर रहनेछ भने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमाण्ड पोष्ट पशुपति क्षेत्र नासल चोकमा रहने छ । मूल शिविरसँगै कमाण्डपोष्टअन्तर्गत ‘सब–कमण्ड’ पोष्टहरू खडा गरी समग्र पशुपति क्षेत्रको महाशिवरात्रि पर्वमेला त्रुटिरहित सुरक्षा प्रणाली अपनाइने जनाइएको छ ।
पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा चिकित्सक, नर्स, औषधि र बेडसहितिको नेपाली सेनाको मूल स्वास्थ्य शिविर रहनेछ भने सशस्त्र प्रहरी, नेपाल प्रहरीका गरी करिब ५० वटा स्वास्थ्य शिविर रहने कोषले जनाएको छ । आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन उपलब्ध हुने जनाइएको छ ।
यस्तै जुत्ताचप्पल व्यवस्थापन एवं दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग, भुवनेश्वरी नजिक शङ्कराचार्य मठ पछाडि, बज्रघर दक्षिणतर्फ, राममन्दिर नजिक वाग्मती पारि गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ ।
उता पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तिलगङ्गा करिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहाको उपलब्ध ठाउँ, गुह्येश्वरीपारि गरी पाँच स्थानमा व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ ।
विमानस्थल, गौशाला, चाबहिलको रिङरोडमा यात्रुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकतानुसार डाइभर्सनको समेत व्यवस्था मिलाइने जनाइएको छ । सडक छेउमा फुटपाथका कुनै पनि पसल राख्न नदिइने कोषले जनाएको छ ।
कोषले मन्दिर परिसरमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ गाँजा, भाङजस्ता पदार्थको बिक्री वितरण एवं ओसारपसार र भण्डारण तथा सेवन नगर्न आग्रह ;गरेको छ । कोषले यसपटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अपेक्षा गरेको छ ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुगेका भक्तजनको व्यवस्थापनमा कुनै कमी हुन नदिने जनाएको छ । बत्तीसपुतली, मैतीदेवी, पुरानो बानेश्वरतर्फबाट आउने दर्शनार्थीका लागि गौशाला–पिङ्गलास्थान गेट, वनकाली हुँदै दक्षिण ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ ।
यसैगरी भक्तपुर, ललितपुर, कोटेश्वर, तीनकुने, विमानस्थल, तिलगङ्गा क्षेत्रबाट दर्शनार्थीका लागि मन्दिरको पूर्वी ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ । साथै जोरपाटी, कपन, महाँकाल, चाबहिल, सिफलतर्फबाट आउने दर्शनार्थीका लागि मन्दिरको उत्तरढोका तथा रातोपुल, कोलोपुल, चाबहिल, सिफलबाट आउने दर्शनार्थीका लागि मन्दिरको पश्चिमी बाहिरी सानो ढोकाबाट प्रवेश गराइने व्यवस्था मिलाइएको छ ।
दर्शनार्थीलाई सहजरूपमा र छिटो भगवान्को दर्शन गराउन आवश्यक सम्पूर्ण कामको व्यवस्था मिलाइएको प्रवक्ता अधिकारीले बताए । महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर आसपासलाई झकिझकाउ पारिँदैछ । मन्दिर आसपासका क्षेत्रमा विभिन्न बत्तीले सजावट गरिँदैछ ।
यसैगरी आजदेखि फागुन २७ गतेसम्म गौशाला–मित्रपार्क सडकबाट पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानाबाट पश्चिम, गौशाला–तिलगङ्गा चक्रपथबाट उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीबाट दक्षिणभित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको छ ।
पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाई भव्यरूपमा सम्पन्न गर्न र पाशुपत क्षेत्रभित्रको सुरक्षालगयात धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो रोक लगाइएको हो ।
.jpg)


