काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छन सोङ बिच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत छनले मन्त्री पुनलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरे ।
भेटमा मन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गर्दै प्रक्रियामा रहेका आयोजना अघि बढ्ने विश्वास व्यक्त गरे ।
चीनले नेपालको भौतिक विकाससहित विभिन्न क्षेत्रमा विगतदेखि नै सहयोग गर्दै आएकामा धन्यवाद दिँदै पुनले नेपालको अर्थतन्त्रमा केही शिथिलता देखिएको र जनताको विकासको आकांक्षा उच्च भएकाले नियमितभन्दा थप सहयोगको अपेक्षा राखिएको उल्लेख गरे ।
राजदूत छनले नेपाल र चीनबीच लामो मित्रता र सहकार्य रहेको भन्दै आगामी दिनमा आपसी समन्वय र सहकार्य थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।
राजदूत छनले नेपालको लगानी सम्मेलन सफलताको शुभकामना दिँदै चिनियाँ व्यवसायीको लगानी सम्मेलनमा उत्साहजनक सहभागिता रहने प्रतिबद्धता जनाए ।
.jpg)


