एजेन्सी । युरोपको सर्वाधिक ठुलो क्लब फुटबल प्रतियोगिता (युइएफए) च्याम्पियन्स लिगमा आज समूह चरणका ८ खेल हुँदै छन् । आज हुने समूह चरणको दोस्रो खेलमा कुल १६ टोली प्रतिस्पर्धामा रहेका छन् ।
आज साविक उपविजेता म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) तथा एसी मिलान र एथ्लेटिको मड्रिडबीचको भिडन्त हुँदै छ भने रियल मड्रिड, लिभरपुल, इन्टर मिलान, बोरुसिया डर्टमुन्डलगायत ठुला टोलीहरु प्रतिस्पर्धामा छन् ।
आज राति हुने पहिलो खेलमा समूह ‘डी’मा रहेको इन्टर मिलान र सक्तर डोनेस्क प्रतिस्पर्धामा छन् । उक्त खेल राति १०ः३० बाट सुरु हुनेछ । सोही समूहको अर्काे खेलमा आयाक्स र बेसिक्टसले राति १०ः३० बजे खेल्दै छन् । त्यस्तै अरु बाँकी सबै खेल राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

पिएसजी र सिटीबीचको खेल राति १२ः४५ बजे फ्रान्सको राजधानी पेरिसमा हुनेछ । समूह ‘ए’को शीर्ष स्थानमा रहेको सिटीसँग तीन अङ्क छ भने दोस्रो स्थानको पिएसजीसँग एक अङ्क छ । सोही समूहका आरबी लेइपिज र क्लब ब्रगले पनि राति १२ः४५ बजे हुने अर्को खेल खेल्दै छन् ।
यस्तै, आज स्पेनिस च्याम्पियन एथ्लेटिकोले इटालीको मिलानसँग खेल्दै छ । सान सिरोमा हुने उक्त खेल राति १२ः४५ बाट सुरु हुनेछ । समूह ‘बी’मा एथ्लेटिको एक अङ्कसहित दोस्रो स्थानमा रहँदा मिलान अङ्कविहीन रहँदै चौथो स्थानमा छ ।

यसै समूहको शीर्ष स्थानमा रहेको लिभरपुल र तेस्रो स्थानको पोर्टोले आजै हुने अर्को खेलमा प्रतिस्पर्धा गर्दै छन् । राति १२ः४५ बजे हुने यो खेल पोर्टोको मैदानमा हुनेछ ।
स्पेनिस क्लब रियलले माल्डोभाको शेरिफ क्लबसँग खेल्ने छ । राति १२ः४५ बजे हुने यो खेल रियलको मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । समूह ‘डी’को शीर्ष स्थानमा रहेको शेरिफ र दोस्रो स्थानको रियलसँग समान तीन–तीन अङ्क छ । सोही समूहमा अङ्कविहीन रहँदै क्रमशः तेस्रो र चौथो स्थानमा रहेका इन्टर मिलान र सक्तर डोनेस्क रहेका छन् ।

जर्मन क्लब डर्टमुन्डले राति १२ः४५ बजे पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग खेल्नेछ । यो खेल डर्टमुन्डको मैदानमा हुनेछ । समूह ‘सी’मा डर्टमुन्ड तीन अङ्कसहित दोस्रो स्थानमा रहँदा सिपी अङ्कविहीन रहँदै पुछारमा छ । सोही समूहमा आयाक्स तीन अङ्कसहित शीर्ष स्थानमा रहँदा बेसिक्टास अङ्कविहीन हुँदै तेस्रो स्थानमा छ ।


