बिहीबार , कार्तिक २० गते २०८३
images
images

रेडियो नेपाल सबैभन्दा भरपर्दो माध्यमका रुपमा स्थापित भइरहनु गौरवको विषय हो : रेखा शर्मा

एक्सप्रेस पाना
चैत्र २०, २०८० मंगलबार
  • 209
    SHARES
  • रेडियो नेपाल सबैभन्दा भरपर्दो माध्यमका रुपमा स्थापित भइरहनु  गौरवको विषय हो : रेखा शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मलाई आत्मसात् गरी रेडियो नेपालले समाचार, कार्यक्रम र सन्देश सम्प्रेषण गर्नुपर्ने बताएकी छिन् ।

    images

    मंगलबार रेडियो नेपालको ७४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले रेडियो नेपालले गाउँ, सहर र दूरदराजका बस्तीसम्म पुगी युग सुहाउने सूचना र सञ्चारको भरपर्दो, निष्पक्ष, स्वतन्त्र र प्रभावकारी माध्यम बन्नसक्नुपर्ने बताएकी हुन् ।

     उनले भनिन्,““आगामी दिनमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक प्रसारण सेवा बनाउने सरकारको नीतिलाई व्यवहारमा उतार्न सार्वजनिक प्रसारण उन्मुख समाचार र कार्यक्रम उत्पादन तथा प्रसारणका लागि तयारी गर्नुपर्ने आवश्यकता छ ।”

    images

    राष्ट्र र नागरिकका हरेक सवाललाई प्रवाह गरेर रेडियो नेपालले समाजको अग्रगामी रुपान्तरणमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले जनक्रान्तिका उपलब्धिको रक्षा र विकास गर्दै बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न रेडियो नेपालले अझै विविधतापूर्ण सामग्री उत्पादन र प्रसारण गर्नतिर ध्यान दिन आवश्यक रहेको बताइन् ।

    सूचना प्रविधिको विकासले सञ्चारका माध्यममा विविधता आएको भए पनि अझै रेडियोप्रतिको आकर्षण नघटेको उल्लेख गर्दै मन्त्री शर्माले अहिले पनि देशभरि र खासगरी ग्रामीण क्षेत्रका आम जनताको घरघरमा, मेलापात र गोठालो जाँदाको साथी रेडियो नेपाल नै बन्ने गरेको स्मरण गरेकी छिन् ।

    उनले भनिन्,“टेलिभिजन र इन्टरनेटको पहुँचभन्दा बाहिरका स्रोतालाई सूचना र मनोरञ्जन दिने मात्र होइन, इन्टरनेटको पहुँचमा रहेका स्रोतालाई क्षणक्षणमा अनलाइन ‘पोर्टल’मार्फत सूचित गर्ने काम पनि रेडियो नेपालले गरिरहेको छ”, । “रेडियो नेपाल गाउँ–सहरका स्रोताको सूचना र मनोरञ्जनको सबैभन्दा भरपर्दो माध्यमका रुपमा स्थापित भइरहनु हाम्रा लागि गौरवको विषय हो ।”

    मन्त्री शर्माले हिमाल, पहाड र तराईको भौगोलिक विविधतालाई आत्मसात् गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकको मूल्यबोधसहित रेडियो नेपालले मन र माटोलाई जोड्न अझै प्रभावकारी कार्यक्रम उत्पादन गर्नुपर्नेमा जोड दिइन् । उनले विगतका गौरवमय सङ्घर्षको जगमा बनेको नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध एवं क्रियाशील रहेको बताइन् ।

    उनले भनिन्,“कला, साहित्य, गीत, सङ्गीत, भाषा, संस्कृति, ज्ञान, विज्ञान तथा सूचना प्रविधिको खोज, विकास र विस्तारलाई थप प्रवद्र्धन गर्नु रेडियो नेपालको अभीष्ट बन्नुपर्छ”, उनले भनिन् । “पत्रकारिता क्षेत्रले जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने र हाल समाजमा देखा पर्न खोजिरहेका उच्छृङ्खल र अराजक प्रवृत्तिलाई निरुत्साहित गर्ने खालका सामग्री उत्पादन तथा प्रसारण प्रकाशनमा जोड दिन आवश्यक छ”, उनले भनिन् ।

    मन्त्री शर्माले आजको प्रतिस्पर्धी युगमा रेडियो नेपालले समय सुहाउँदो नवीनतम् प्रविधि उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार तथा थप समावेशी र जनपक्षीय कार्यक्रम उत्पादन र प्रसारणमा ध्यान दिन निर्देशन दिइन् । 

    “बदलिँदो समय, प्रतिस्पर्धा र राष्ट्रिय दायित्व समेतलाई हेरेर रेडियो नेपालले आफ्ना कार्यक्रम, समाचार तथा प्रसारण सामग्रीहरुलाई अझ सार्वजनिक प्रसारणमुखी बनाउनुपर्छ”, उनले भनिन् ।