शुक्रबार, भाद्र २६ गते २०८३
images

विराज च्यासलमा आबद्ध, प्राविधिक निर्देशक पनि भित्र्यायो

एक्सप्रेस पाना
आश्विन १२, २०७८ मंगलबार
  • 769
    SHARES
  • विराज च्यासलमा आबद्ध, प्राविधिक निर्देशक पनि भित्र्यायो

    असोज १२ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सफल पूर्वकप्तान विराज महर्जन ए डिभिजन क्लब च्यासल युथमा आवद्ध भएका छन् । मंगलबार च्यासल युथ क्लबले एक कार्यक्रमबीच महर्जनलाई क्लबमा भित्र्याएको हो ।

    images

    विराजले गत महिना नेपालमा आयोजना भएको थ्री नेसन्स कपबाट अन्तर्राष्ट्रिय फुटबलमा सन्यास लिएका थिए । घरेलु फुटबलको सहिद स्मारक ए डिभिजन लिगमा विराज पहिलो पटक च्यासलमा आवद्ध भएका हुन् । सम्झौतामा च्यासका अध्यक्ष रमेश ब्यन्जनकार र विराजले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    ए डिभिजन यात्रामा विराजको यो पाचौं क्लब हो । यसअघि विराजले न्युरोड टिम एन राटी, थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबाट लिग खेलेका छन् । विराजले थ्री स्टार, मनाङ र मछिन्द्रबाट ह्याट्रिकसहित लिग उपाधि हात पारेका थिए  ।

    images

    एन्फा एकेडेमीका विराजले सन् २००८ मा पोखरामा भएको मैत्रीपूर्ण खेलमा पाकिस्तानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । राष्ट्रिय टोलीमा ७३ क्याप जितेका विराजले नेपालको लागि बंगबन्धु गोल्डकप, १२औं साग, एएफसी सोलिडारिटी कपको उपाधि हात पारेका छन् । त्यसैले पनि विराजलाई नेपाली फुटबलको सफल कप्तान मानिन्छ ।

    यस्तै च्यासलले प्राविधिक निर्देशकमा स्कटल्याण्डका ली मान्सनलाई भित्र्याएको छ । च्यासललाई आगामी ए डिभिजन लिगमा यू-क्यानले कीट स्पोन्सर गर्ने भएको छ । च्यासल युथ क्लबका अध्यक्ष रमेश ब्यन्जनकारले आगामी दिनमा विदेशी खेलाडी, अन्य खेलाडी र प्रशिक्षकलाई समेत सम्झौता गरेर भित्र्याउने बताए ।

    कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबल विस्तारमा योजना ल्याएकोमा धन्यवाद दिँदै ए डिभिजन लिगको लागि शुभकामना दिए । राइट ब्याक विराजले च्यासलले फुटबल खेल्ने योजना राम्रो ल्याएका कारण क्लबमा आवद्ध भएको बताए ।