एजेन्सी । युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता (यूइएफए) च्याम्पियन्स लिगमा आज राति इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यान्चेस्टर सिटी र फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्टर जर्मेन पिएसजीबीच रोमाञ्चक भिडन्त हुँदै छ ।
यी दुई टोलीको खेल नेपाली समयअनुसार आज राति १२ः४५ बजे फ्रान्सको राजधानी पेरिसमा हुनेछ । सिटी साविक उपविजेता टोली हो । यस्तै आजको खेलमा घरेलु टोली पिएसजी पाहुना टोली सिटीमाथि सहज जित निकाल्दै पहिलो जितको खोजिमा हुनेछ । पीएसजीले पहिलो खेलमा क्लब ब्रुगसँग १–१ गोलको बराबरी खेलेको थियो ।
त्यस्तै पाहुना टोली सिटी पनि घरेलु टोलीलाई उसैको मैदानमा निराश पार्दै खेल आफ्नो पक्षमा पार्ने योजनामा रहेको छ । सिटीले पहिलो खेलमा आरबी लाइप्जिगलाई ६–३ ले पराजित गरेको थियो ।
आजको खेलमा घरेलु टोलीका लागि स्टार फवार्ड लियोनल मेस्सी , नेयमार र केलियन एमबाप्पेको साथ रहनेछ । त्यस्तै प्रतिबन्धका कारण एन्जल डि मारिया टोलीमा हुनेछैनन् । यता पाहुना टोलीसँग रियाल महारेज, फेरान टोरेस, रहिम स्टर्लिङ, फर्नान्डिन्हो, रोड्री, केभिन डि ब्रुयन, जोओ क्यान्सिलो, जोन स्टोन्स,रुवेन डियास, केल वाल्कर र गोलरक्षक इडर्सन मोराएस रहेका छन् ।
यी दुई टोलीबीचको पछिल्लो चार भेटमा सिटीले पीएसजीसँग हार बेहोरेको छैन । पछिल्लो तीन खेलमा सिटीले जित निकाल्दा एक खेलमा भने २–२ गोलको बराबरी खेलेको थियो ।


