एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता (यईएफए) च्याम्पियन्स लिग फुटबलमा सर्वाधिक सफल स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियल मोल्डेभाको एफसी सेरिफसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
रियलको घरेलु मैदानमा भएको खेलमा खेलको २५औं मिनेटमा जासुरबेक याख्सिबोभले गोल गर्दै पाहुना टोली सेरिफलाई सुरुवती अग्रता दिलाए । त्यस्तै पहिलो हाफमा १-० गोलले पछि परेको रियलका लागि खेलको ६५औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए । तर, खेलको ८९औं मिनेटमा सेबास्टियन थिलले गोल गर्दै सेरिफलाई २-१ को जित दिलाए ।
उक्त जितसँगै समूह 'डी'को सेरिफले दुई खेलमा ६ अंक जोडेको छ । र, शीर्ष स्थानमा रहेको छ । रियल तीन अंक जोडेर दोस्रो स्थानमा छ ।
समूह 'डी'को अर्को खेलमा इन्टर मिलानले शाख्तर डोनेक्ट्ससँग गोलरहीत बराबरी खेलेको छ । इन्टर एक अंक जोडेर तेस्रो र शाख्तर एक अंक जोडेर पुछारमा छ ।


