काठमाडौं । आजबाट सेतो मच्छिन्द्रनाथको जात्रा सुरु हुँदैछ ।
हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दशमीसम्म तीन दिन सेतो मच्छिन्द्रनाथको जात्रा मनाइने गरिन्छ ।
सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । करुणामय र आर्या अवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।
मंगलबारसाँझ ५ बजे जमलस्थित तीनधारा पाठशालाबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुनेछ । जात्राको पहिलो दिन आज सेतो मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखी जमलबाट विभिन्न टोल हुँदै असन पुर्याएपछि बलि दिएर पूजा गर्ने परम्परा छ ।
नवमीका दिन असनबाट रथ तानेर हनुमानढोकाको कालभैरव पुर्याइन्छ भने चैत शुक्ल दशमीका दिन हनुमानढोकाबाट विभिन्न टोल हुँदै रथ तानेर लगनटोल पुर्याएपछि रथयात्रा सम्पन्न हुन्छ ।
.jpg)


