काठमाडौं । इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्।
दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका कतारी शेख तमिम बिन हमाद अल थानीसँग शीतलनिवासमा भएको औपचारिक भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले उनलाई विपिन जोशीबारे कुरा उठाएका थिए।
सो क्रममा कतारी शेखले कतारले जोशीको खोजी तथा रिहाइको लागि पहल गरिरहेको बताएको राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले नेपालखबरलाई जानकारी दिए।
उनले भने, ‘राष्ट्रपतिज्यूले विपिन जोशीको रिहाइको लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो। सो क्रममा कतारी राजाले कतारले पहल गरिरहेको जानकारी दिनुभएको थियो।’
गत वर्ष असोज २० गते इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए ।
.jpg)


