काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को आगामी अधिवेशनअगावै महत्वपूर्ण विधेयकहरूमाथि छलफल गरी पारित गर्न संसदीय समितिलाई निर्देशन दिएका छन् ।
मंगलबार संसद सचिवालय सिंहदरबारमा विभिन्न विषयगत समितिका सभापतिका साथै राष्ट्रिय दलका मुख्य सचेतक, सचेतकसँग सामूहिक रूपमा छलफल गर्दै सभामुख घिमिरेले आगामी अधिवेशनअगावै विधेयकहरू पारित गर्नेगरी तयारी गर्न ध्यानाकर्षण गराएका हुन् ।
आगामी अधिवेशनमा आउन सक्ने विधेयक, समितिमा विधेयकको अवस्था, आगामी अधिवेशनको तयारी लगाायतका विषयमा छलफल भएको सभामुख घिमिरेले जानकारी दिए ।
बैठकपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संविधान कार्यान्वयनका निम्ति धेरै विधेयकहरु समितिमा रहेकाले यसलाई छिटोभन्दा छिटो अघि बढाउनुपर्ने जोड दिइएको बताए । आगामी अधिवेशनमा समितिबाट धेरै विधेयकहरु पेस हुने उनको भनाइ छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद नहुँदा संसदीय समितिमा पनि प्रभाव परेको र विधेयकमाथि छलफल रोकिएको बताए । उनले छिटै विधेयक अघि बढाउन सभामुखले निर्देशन दिएको जानकारी दिए ।
बैठकमा समिति सभापतिहरूले संसदीय समितिले दिएको निर्देशन पालनाका लागि सरोकारवाला सवै पक्ष गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।
.jpg)


