काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीकोसमेत प्रभाव रहेको छ।
देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ भने बाँकी भूभागमा आंशिक बदली रहने छ।
कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेश र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हवाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
राति कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ रहावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
.jpg)


