असोज १४ काठमाडौं । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी चौथौ संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि -२० मा चितवन टाइगर्सले काठमाडौं किंग्स इलेभेनमाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । उक्त लगातार दोस्रो जितसँगै चितवन ४ अंक जोड्दै साथ शीर्षस्थानमा उक्लिएको छ ।
१४२ रनको लक्ष्यसहित जवाफि ब्याटिङमा आएको चितवनले १८ ओभर पाँच बलमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।
चितवनको जितमा राजेश पुलामी मगरले सर्वाधिक २६ रनमा अविजित रहे । उनले २९ बलमा २ छक्का प्रहार गर्दै २६ रन बनाएका थिए । यस्तै कमल ऐरी र दिलीप नाथले समान २३/२३ रन बनाए । यस्तै करिम जन्नतले १४ बलमा २१ रन बनाए । चितवनका कप्तान सोमपाल कामी डक आउट भए ।
काठमाडौंका रायन बर्ल र जितेन्द्र मुखियाले समान २/२ विकेट लिए । जनक प्रकाश, गुल्शन झा र सन्दीप लामिछानेले १/१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेकोे काठमाडौले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।
काठमाडौंको मध्यस्कोर बनाउने क्रममा ओपनिङ ब्याटर सुभाष खकुरेलले सर्वाधिक ३५ रन बनाए । यस्तै राजु रिजालले २८ र जनक प्रकाशले २६ रन बनाए । काठमाडौंका अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् । पहिलो खेलमा ललितपुरविरुद्ध विष्फोटक ब्याटिङ गरेका काठमाडौंका ब्याटर रायन बर्ल भने डक आउट भएका थिए ।
टस जितेर बलिङ गर्ने निर्णय गरेको चितवनका लागि सागर ढकालले सर्वाधिक ४ विकेट लिए । यस्तै करिम जन्नतले २ विकेट लिँदा सीकुगे प्रशंन्ना र कमल ऐरीले समान १/१ विकेट लिए ।
आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुनेछ ।


