शुक्रबार, भाद्र २६ गते २०८३
images

हामी सबै खेल जित्दै फाइनल पुग्न चाहन्छौँ : कप्तान किरण

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 378
    SHARES
  • हामी सबै खेल जित्दै फाइनल पुग्न चाहन्छौँ : कप्तान किरण

    असोज १४ काठमाडौं ।  नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेन्जोङले साफ च्याम्पियनसिपका सबै खेल जित्दै फाइनलमा पुग्ने टोलीको योजना रहेको बताएका छन् । 

    images

    बिहीबार प्रतियोगिताको प्रि-म्याच पत्रकार सम्मेलनमा बोल्दै किरणले साफका सबै खेल महत्त्वपूर्ण हुने बताउँदै सबै खेल जित्दै फाइलन पुग्ने योजना रहेको बताएका हुन् । ‘साफका सबै खेल महत्त्वपूर्ण हुनेछन् । हामी सबै खेल जित्दै फाइनल पुग्न चाहन्छौँ’, राष्ट्रिय टोलीका नियमित कप्तान किरणले भने । 

    १३औँ संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफ च्याम्पियनसिप भोलि (शुक्रबार)देखि माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आयोजना हुँदै छ । 

    images

    प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र बंगलादेश भिड्ने तालिका रहेको छ । 

    नेपालले भोलि नै राति ९ः ३० बजे आयोजक माल्दिभ्सको सामना गर्नेछ । 

    खेलअघि बोल्दै कप्तान किरणले नेपाली टोलीमा युवा र अनुभवी खेलाडीको राम्रो तालमेल रहेको र उत्कृष्ट नतिजाका लागि खेल्ने बताए । 

    ‘हामीसँग युवा तथा अनुभवी खेलाडीको राम्रो तालमेल छ । हामी उत्कृष्ट नतिजाका लागि मैदानमा उत्रनेछौँ’, राष्ट्रिय टोलीबाट सर्वाधिक ७४ क्याप जितेका गोल रक्षक किरणले भने । 

    यस्तै, किरणले माल्दिभ्सलाई घरेलु दर्शक र मैदानको फाइदा हुने भए पनि त्यसले खासै नेपाली टोलीलाई फरक नपर्ने प्रतिक्रिया दिए । 

    ‘पक्कै पनि उनीहरू (माल्दिभ्स)लाई घरेलु मैदानको फाइदा हुनेछ । उसका घरेलु समर्थक हुनेछन् तर त्यसले फरक पर्दैन’, किरणले भने । 

    यता, नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टोलीको तयारी राम्रो रहेको बताउँदै सुरुवाती खेलमा माल्दिभ्ससँग खेल्न कठिन हुने बताए । 

    ‘हामीले राम्रो तयारी गरिरहेका छौँ । सबैलाई थाहा छ, हामी फाइनलमा पुगेका छैनौँ । हामी आफ्नो राम्रो खेल दिनेछौँ । माल्दिभ्स साविक विजेतासमेत हो । ऊ राम्रो छ । माल्दिभ्सलाई घरेलु दर्शक र  मैदानको साथ छ । माल्दिभ्ससँग केही उच्च प्रदर्शन गर्ने खेलाडीसमेत छन् । साविक विजेता (माल्दिभ्स)सँग खेल्न कठिन हुन्छ’, मुख्य प्रशिक्षक अब्दुल्लाह अल्तुताइरीको अनुपस्थितिमा श्रेष्ठले भने ।  

    यस्तै, प्रशिक्षक किरणले प्रतियोगिताको बलियो टोली इण्डिया र माल्दिभ्स रहे पनि आफूहरूले उपाधि दाबेदारी प्रस्तुत गर्ने बताएका छन् । 

    ३० असोजसम्म चल्ने साफ च्याम्पियनसिपमा नेपालसहित भारत, आयोजक माल्दिभ्स, बंगलादेश र श्रीलंका रहेका छन् । भुटान र पाकिस्तान भने यस पटक प्रतियोगितामा समावेश छैनन् । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।