असोज १५ काठमाडौं । आज बाट सुरु हुने १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा उद्घाटन खेलमा श्रीलङ्का र बङ्गलादेशले खेल्नेछन् । हाल नेपालसहित ५ टोली सहभागी रहेका छन् । भुटान र पाकिस्तान सहभागी नभएपछि यो पाटक साफ च्याम्पियनसिपमा पाँच टोली मात्र सहसभागी भएका हुन् । पाँच टोलीले एक–आपसमा खेलेपछि शीर्ष दुई टिमले असोज ३० गते उपाधिका लागि खेल्ने छन् ।
साफको पहिलो दिन आज शुक्रबार दुई खेलहरू हुनेछन् । उद्घाटन खेलमा श्रीलङ्का र बङ्गलादेशले खेल्नेछन् । यसअघि नेपाल र माल्दिभ्सले उद्घाटन खेल खेल्ने तालिका थियो । तर दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले बिहीबार तालिका परिवर्तन गरेसँगै उद्घाटनमा श्रीलङ्का र बङ्गलादेश भिड्ने भएका हुन् ।
उद्घाटन खेल नेपाली समयअनुसार दिउँसो ४ः४५ मा सुरु हुने छ भने नेपाल र माल्दिभ्सबीचको खेल राति ९ः४५मा सुरु हुने छ । नयाँ तालिकाअनुसार नेपालले समूह चरणका चारमध्ये तीन खेल राति खेल्न छ भने एक खेल दिउँसो खेल्ने छ । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ (असोज १५ देखि २७) सम्म आयोजना हुनेछ ।
पहिलो खेलमा नेपाल घरेलु टिमविरुद्ध मैदान उत्रँदा सुखद नजिता आत्मसाथ गर्न चाहन्छ । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफको उपाधि जित्ने लक्ष्य रहेको बताउँदै आएका छन् । तर नेपाललाई साफको उपाधि जित्न सहज भने हुने छैन । साफको इतिहासमा नेपाल फाइनलसम्म पुग्न सकेको छैन ।
हेड टू हेड हेर्दा माल्दिभ्सविरुद्ध नेपालको इतिहास निकै कमजोर छ । नेपाल र माल्दिभ्सबीच जम्मा १६ खेल भएका छन्, जसमा माल्दिभ्सले ८ खेल आफ्नो पक्षमा पारेको छ भने नेपालले ४ खेल जितेको छ । बाँकी ४ खेल बराबरीमा सकिएको छ ।


