काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टिकटकको नाममा नभई त्यसमा आउने ‘कन्टेन्ट’प्रति समस्या रहेको भन्दै त्यसलाई कानुनी दायरामा ल्याउने प्रयन्त भइरहेको बताएकी छन् ।
उनले नेपाली कानुनअनुसार समाजलाई मान्य हुनेगरी टिकटकलगायत कुनै पनि सामाजिक सञ्जाल नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छन् । बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले समाजमा अमर्यादित गतिविधिलाई महत्त्व दिनेगरी टिकटकमा सामग्रीहरू उत्पादन र प्रसारण भएका कारण सरकारले नेपालमा बन्द गरेको बताइन् । सरकारले नेपाल टेलिकम लगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको स्पष्ट पारिन् ।
मन्त्रि शर्माले सामाजिक सञ्जाल समाज अनुकूल हुनेगरी प्रयोग गर्न आवश्यक रहेको स्पष्ट पारिन् ।
उनले भनिन् "टिकटकको विषय पनि उठाउनुभएको छ । यो विषय के हो भने टिकटक, मन्त्रिपरिषद्बाट नै निर्णय गरेर हामीले बन्द गरेका हौँ । कानुनी रूपमा भन्ने हो भने अहिले बन्दकै अवस्थामा छ । हामी नियम कानुन पालना गर्ने र गराउने ठाउँमा छौँ, हामीले प्रयोग गर्नु हुँदैन । कुनै आग्रह, पूर्वाग्रह भएर भन्दा पनि त्यसलाई पूर्वीय दर्शनमा अडिएको हाम्रो परिवार र समाज हो । त्यस कारणले हाम्रो समाज अनुकूल हुनेगरी प्रयोग गर्नुपर्छ" ।
.jpg)


